जाजरकोट । जाजरकोटमा बाल विवाह न्यूनीकरणका लागि सातवटै पालिकामा बाल विवाह विरुद्धको साझा अभियान सञ्जालले ध्यानाकर्षण पत्र बुझाइएको छ। किशोर–किशोरीहरूको श्रमशील उमेरमै हुने विवाहले शिक्षा, स्वास्थ्य र समग्र जीवनमा दीर्घकालीन असर पार्ने भएकाले, यसतर्फ स्थानीय सरकारहरूको ध्यानाकर्षण गराइएको हो।


२०७८ सालको राष्ट्रिय जनगणना अनुसार, जाजरकोटमा करिब ७३%प्रतिशत बाल बिबाह हुने गरेको देखिएको छ। यस्तो अवस्थाले बालबालिकाको भविष्यमा प्रत्यक्ष नकारात्मक असर पारिरहेका कारण, स्थानीय तहहरूले योजनाबद्ध र समन्वित रूपमा बाल विवाह न्यूनीकरणमा काम गर्नुपर्ने आवश्यकता देखिएको छ।
उक्त अभियान अन्तर्गत भेरी नगरपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, कुसे गाउँपालिका, जुनिचाँदे गाउँपालिका, शिवालय गाउँपालिका र बारेकोट गाउँपालिका गरि सातै पालिकामा बाल विवाह विरुद्धको साझा अभियान सञ्जाल, जाजरकोटका तर्फबाट ध्यानाकर्षण पत्र बुझाइएको हो।

मागपत्रमा समावेश ९ मुख्य बुँदाहरू
१. वाल विवाह न्यूनीकरण रणनीतिक योजना तथा आवधिक कार्ययोजना निर्माण गर्ने ।
२. अनिच्छुक वाल विवाह पीडितलाई न्यायमा पहुंचका लागि सहयोग गर्ने र घटना अभिलेखिकरण गर्ने ।
३. प्रत्यक वडा र माध्यमिक विद्यालयमा निगरानी समूह गठन गर्ने र सम्पर्क व्यक्ति परिचालन गर्ने ।
४. वाल विवाह विरुद्ध जनमत निर्माण गर्न नागरिक संगठन तथा मिडीया परिचालन गर्ने ।
५.आम सचेतीकरणका विभिन्न क्रियाकलापहरु अगाडी वढाउने ।
६. वाल विवाह र हिंसा विरुद्ध कार्य गर्ने गरी स्थानीय सर्वपक्षीय कार्यदल निर्माण गर्ने ।
७. वाल विवाह र हिंसा विरुद्ध उदाहरणीय कार्य गर्ने स्थानीय व्यक्ति वा संस्थालाई सम्मान गर्ने ।
८. वाल विवाह न्यूनीकरणका लागि सांस्कृतिक क्रियाकलापहरु अगाडी वढाउने ।
९. वाल विवाह न्यूनीकरणका लागि सरोकारवालाहरुको क्षमता विकास गर्ने ।
ध्यानाकर्षण पत्रमार्फत सबै स्थानीय सरकारहरूलाई समन्वय, सहयोगको प्रतिबद्धताका साथ बाल विवाह न्यूनीकरण अभियानमा सक्रिय भूमिका खेल्न अनुरोध गरिएको छ। साथै, यो अभियानलाई जिल्ला व्यापी रूपमा प्रभावकारी ढंगले अघि बढाउन सामूहिक प्रतिबद्धता अपरिहार्य रहेको उल्लेख गरिएको छ।



































प्रतिक्रिया दिनुहोस्