सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन १४ गते बिहीबार

जाजरकोटमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना घाइते नेपालगञ्ज रिफर



जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–७ खगेनकोटमा सरिया लोड गरेर कायकखेततर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

शुक्रबार बिहान करिब ८ः२० बजेको समयमा भे १ त ८७११ नम्बरको ट्याक्टर डोल्पा-जाजरकोट सडकखण्डमा दुर्घटनामा परेको हो। दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी निरीक्षक यमराज रोकायको कमाण्डमा ६ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

दुर्घटनामा नलगाड नगरपालिका–७ बगरा निवासी करिब १८/१९ वर्षका चालक विनोद परियार र सोही स्थानका जयबहादुर परियार घाइते भएका थिए। दुवै जनालाई उद्धार गरी नगर अस्पताल दल्ली लगिएकोमा चालक विनोद परियारलाई थप उपचारका लागि चौरजहारीस्थित मिसन अस्पताल पठाइएको थियो। उपचारका क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेका छन्।

दुर्घटनामा घाइते जयबहादुर परियारलाई सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। घटनास्थलमा जाजरकोट जिल्ला प्रहरी कार्यालयबाट समेत प्रहरी निरीक्षक सन्तोष चन्दको कमाण्डमा अनुसन्धान टोली पुगेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।दुर्घटनामा संलग्न ट्याक्टर घटनास्थलमै रहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ जेठ ३० गते शुक्रबार