जाजरकोट । एक समय थियो, जब कर्णाली हेर्न विदेशीहरू लामो यात्रा गरेर आउँथे । कर्णालीलाई विश्वभर चिनाउने काम भूगोलशास्त्री टोनी हेगनले गरेका थिए । भूगोलशास्त्रीहरूले नेपाल र कर्णालीको सौन्दर्यलाई विश्वसामु चिनाउन तस्बिर र भिडियो खिचेका थिए । तर आज त्यो भूमिका आफ्नै माटोका छोराले निभाइरहेका छन् । जाजरकोटका सुरेन्द्र सुमन सिंहले युट्युबमार्फत कर्णाली लाई विश्वमा चिनाउने अभियान अघि बढाएका छन् ।
सुरेन्द्र पेशाले पत्रकार हुन् । किशोरावस्थादेखि रेडियोबाट पत्रकारिता सुरु गरेका उनले राजधानी काठमाडौँको मूलधार मिडियासम्म पुगेर कान्तिपुरजस्तो ठुलो सञ्चारगृहमा काम गरे । डेढ दशक लामो पत्रकारिता यात्रापछि उनले कर्णाली फर्केर आफ्नै गाउँबाट डिजिटल पत्रकारिताको नयाँ अध्याय सुरु गरे । सुरुमा जाजरकोटको रमणीय दृश्यहरू मोबाइल र क्यामेरामा कैद गरेर युट्युबमा राख्न थालेका सुमनको भिडियोले थुप्रै दर्शकको ध्यान तान्यो ।
उनले देखाएको कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र स्थानीय जीवनशैलीले दर्शकको मन जित्यो ।जाजरकोट सहित कर्णालीका रमणीय दृश्यहरू उनले आफ्नै मोबाइल र क्यामेराबाट खिचेर युट्युबमा प्रस्तुत गरे। भिडियोहरूले ठूलो ध्यान तान्न थालेपछि सरकारी जागिर छाडेर उनले युट्युबर बन्ने निर्णय गरे। अब उनका सामग्री नेपालभन्दा बढी विदेशमा हेरिन्छन्।
सामाजिक सञ्जालमा कम सक्रिय देखिए पनि युट्युबमा उनले उत्पादन गरेका सामग्रीले कर्णालीको छवि बदलिरहेका छन्। स्पष्ट विचार, सादा जीवन र गहिरो संवेदनशीलता बोकेका सुमन युवा पुस्ताका लागि प्रेरणाका पात्र बनेका छन्।





























प्रतिक्रिया दिनुहोस्