सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ असोज २६ गते आइतबार

प्रेस युनियन जाजरकोटद्वारा विरामीलाई फलफुल वितरण



जाजरकोट । नेपाल प्रेस युनियन जाजरकोटले आफ्नो ३४औं स्थापना दिवसको अवसर पारेर जाजरकोट जिल्ला अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफुल वितरण गरेको छ। केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार यस साता विभिन्न शाखाहरूले विविध सामाजिक र सृजनात्मक कार्यक्रमहरू गर्दै स्थापना दिवस मनाउने योजना अनुरूप जाजरकोट शाखाले सोमबार बिरामीहरूसँग साक्षात्कार गर्दै फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष राजेन्द्र कार्की, निवर्तमान जिल्ला अध्यक्ष बालकुमार शर्मा, नेपाली कांग्रेस जाजरकोटका जिल्ला सचिव तेज विक्रम शाह, नेपाल शिक्षक संघका निवर्तमान केन्द्रीय उपाध्यक्ष जनक सिंह, नेपाल पत्रकार महासंघ जाजरकोटका कोषाध्यक्ष शरोज वली, पत्रकार गणेश वानिया, नेपाल फोटो पत्रकार महासंघ जाजरकोटका सल्लाहकार एवं प्रेस युनियनका सदस्य खम्ब जंग शाह, पत्रकार शारदा पुन ,प्रेम विश्वकर्म लगायत पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल प्रेस युनियन जाजरकोटका अध्यक्ष बासुदेव शर्माका अनुसार जिल्ला अस्पतालमा उपचार गराइरहेका २० जना बिरामीहरूलाई फलफुल वितरण गरिएको हो। “स्थापना दिवस केवल औपचारिक समारोहमा सीमित नरहोस् भन्ने उद्देश्यले हामीले सामाजिक उत्तरदायित्वस्वरूप बिरामीलाई भेटेर सानो सहयोग गरेका छौं,” अध्यक्ष शर्माले बताए।

कार्यक्रमका क्रममा अस्पतालमा उपस्थित बिरामीहरूका आफन्त र सेवाग्राहीहरू माझ शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै, पत्रकारिता पेशाले सामाजिक संवेदनशीलतालाई आत्मसात गर्दै अघि बढ्नुपर्ने धारणा सहभागीहरूले राखेका थिए। नेपाल प्रेस युनियन जाजरकोटले यही सातामा अन्य विविध कार्यक्रमहरू आयोजना गर्ने तयारी गरिएको छ । शाखाले अस्पतालमा फलफुल वितरण गर्दै एक उदाहरणीय कार्यक्रमको सुरुवात गरेको छ ।

प्रकाशित मिति : २०८२ जेठ १२ गते सोमबार