सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन १२ गते मंगलबार

जाजरकोटमा नक्कली छाप र रसिद सहित दुई जना पक्राउ



जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका वडा नं ६- रादेउमा नक्कली सरकारी छाप र रसिदसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुनिचाँदे गाउँपालिका–२ का २३ वर्षीय पारश शाही र वडा नं – ११ का २१ वर्षीय यज्ञेश्वर बहादुर शाही रहेका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार उनीहरूले जुनिचाँदे गाउँपालिकाको नक्कली छाप, लेटरप्याड र रसिद प्रयोग गरी खनिज तथा जडिबुटी बोकेका गाडीलाई रोकी अवैध राजस्व असुलेका थिए। प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बडावन र प्रहरी चौकी जुनिचाँदेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई रादेउ सडक खण्डमा नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूको साथबाट नक्कली छाप, अनुसूची १०१ अनुसारको आम्दानी रसिद, चेकजाँच सिफारिस पत्र र कर संकलन रसिद बरामद गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ भने जाजरकोट जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको र हाल थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रकाशित मिति : २०८२ जेठ ७ गते बुधबार