सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ असोज ३ गते शुक्रबार

भारत–पाकिस्तानको हवाई तनावले नेपाली उडानमा ढिलाइ, वैकल्पिक मार्ग रोज्न बाध्यता



भारत र पाकिस्तानबीचको सैन्य तनावका कारण दुबै देशले एकअर्काको विमानसेवामाथि हवाई क्षेत्र बन्द गरेपछि नेपाल हुँदै सञ्चालन हुने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। विशेष गरी खाडी मुलुक र युरोप जाने विमानहरूले अब घुमाउरो मार्ग अपनाउनुपरेको छ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार टर्किश एअरलाइन्स, कतार, जजिरा र कुवेत एअरवेजजस्ता विमानले वैकल्पिक बाटो प्रयोग गरिरहेका छन्, जसले गर्दा काठमाडौं आउँदा–जाँदा १–२ घण्टासम्म ढिलाइ हुन थालेको छ।

नेपाल वायुसेवा निगम र हिमालयन एअरलाइन्सका यूएई, कतार, साउदीतर्फका उडानहरू समेत प्रभावित छन्। ती उडानहरू अब मुम्बई हुँदै अरब सागर र ओमानको आकाश प्रयोग गरिरहेका छन्।

हाल दैनिक ३० वटासम्म उडानमा असर देखिएको छ। यद्यपि, हालसम्म कुनै उडान रद्द भएको छैन तर समय, लागत र यात्रुको सन्तुष्टिमा प्रभाव परेको विज्ञहरूले बताएका छन्।

प्रकाशित मिति : २०८२ वैशाख २७ गते शनिबार