सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ असोज ३ गते शुक्रबार

जाजरकोटमा ठूलो मात्रामा अफिम बरामद, चार जना पक्राउ



जाजरकोट । प्रहरीले नेपालगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा ८.५ किलो अफिमसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये तीन जना नलगाड नगरपालिका र एक जना भेरी नगरपालिका–१, रिम्नाका हुन्।

पक्राउ परेकाहरूबाट ६ किलो अफिम, २५ हजार रुपैयाँ नगद र बोलेरो गाडी (प्रदेश ०२००१ च ११४५) बरामद गरिएको हो। सोही दिन बेलुकी रिम्ना बजारमा अर्को बोलेरो (लु १ ज ३९२६) मा सवार विष्णु बहादुर घर्तीबाट थप २.५ किलो अफिम फेला परेको प्रहरीले जनाएको छ। बरामद अफिम जिल्ला प्रहरी कार्यालय परिसरमा खाल्डो खनेर नष्ट गरिएको हो। नष्ट गर्ने कार्य अदालत, प्रशासन र नगरपालिकाका प्रतिनिधिको रोहवरमा सम्पन्न गरिएको थियो।

प्रहरीका अनुसार उनीहरूविरुद्ध लागू औषध मुद्दामा कारबाही भइरहेको छ। दोषी ठहरिए १५ वर्षदेखि जन्मकैदसम्म सजायको व्यवस्था छ। डीएसपी वसन्त कुमार शर्माका अनुसार अफिम, गाँजा र चरेशको अवैध खेती, उत्पादन तथा ओसारपसार जाजरकोट, रुकुम, रोल्पाजस्ता जिल्लामा चुनौतीका रूपमा रहेको छ। खेतीमै नियन्त्रण नगरेसम्म समस्या समाधान नहुने उनले बताए। लागू औषध ऐनअनुसार दोषीलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय हुन सक्ने प्रावधान रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ वैशाख २५ गते बिहीबार