सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन १२ गते मंगलबार

पश्चिमी भू–भागमा मेघगर्जन सहित वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको अनुरोध



काठमाडौँ । हाल देशका पश्चिमी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मेघगर्जन र चट्याङ्सहित वर्षा गराउने प्रणाली पश्चिमा क्षेत्रबाट नेपाल प्रवेश गरिरहेकोले अझै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। महाशाखाले सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ वैशाख १९ गते शुक्रबार