जाजरकोट, वैशाख ९ । जाजरकोटमा पहिलो पटक पेट्रोल पम्प सञ्चालनमा आएको छ । भेरी नगरपालिका–४, बोहोरा गाउँमा मुक्ति बस्नेत सप्लायर्सले आजदेखि पम्प सञ्चालनमा ल्याएको हो । यसअघि उपभोक्ताहरू ड्रम र जर्किनबाट तेल किन्न बाध्य थिए । अब भने शुद्ध र सहज तरिकाले इन्धन पाउने भएका छन् ।
पम्पको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले गर्नुभयो । उहाँले पम्प सञ्चालनसँगै उपभोक्ताले महँगोपनाबाट राहत पाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले नेपाल आयल निगम अन्तर्गतको यो पहिलो पम्प सञ्चालनमा ल्याएकोमा धन्यवाद व्यक्त गर्दै सरकारी तथा गैरसरकारी कार्यालयहरूलाई समेत अब तेल आपूर्तिमा सहज हुने बताउनुभयो ।
यातायात व्यवसायीहरूले पनि तेलको गुणस्तर र मूल्यमा सुधार आउने प्रतिक्रिया दिएका छन् । पम्प सञ्चालक बीरबहादुर बस्नेतले १० वर्षदेखिको प्रयास सबैको सहयोगमा आज सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।



































प्रतिक्रिया दिनुहोस्