जनकपुर —विश्वासको मत सार्ने प्रस्ताव गरेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार राति १२ बजेपछि स्वतः पदमुक्त हुने भएका छन् । मुख्यमन्त्री पदमुक्त भएसँगै बिहीबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारीमा छन् ।
मुख्यमन्त्री यादव आबद्ध रहेको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको बुधबार राति १२ बजे ठ्याक्कै ३० दिन पुग्दैछ । संविधानको धारा १८८ को २ मा मुख्यमन्त्री आबद्ध रहेको दल विभाजन भएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
मुख्यमन्त्री यादवले बुधबार अपराह्न ३ बजे विश्वासको मत लिने तयारी गरे पनि ‘स्वास्थ्य’को कारण देखाउँदै जेठ २८ गते सार्न प्रदेशसभा सचिवालयलाई पत्र लेखेका छन् । मुख्यमन्त्री यादवले लेखेको पत्रबारे सभामुख रामचन्द्र मण्डल भने कानुनी परामर्शमा छन् ।
‘मुख्यमन्त्री आबद्ध दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ,’ प्रदेश प्रमुख कार्यालय स्रोतले भन्यो,‘उहाँ आज(बुधबार) विश्वासको मत लिनुभएन भने राति १२ बजेपछि स्वतः पदमुक्त हुनुहुनेछ ।’





























प्रतिक्रिया दिनुहोस्