Karnali Click

सामाजिक सञ्जालसम्बन्धी विधेयक अर्थ मन्त्रालय पुग्यो

काठमाडौँ । सामाजिक सञ्जाललाई व्यवस्थित बनाउन सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याउने तयारी भइरहेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बतानुभएको छ । 

विधेयक सहमतिका लागि हाल अर्थ मन्त्रालयमा पठाइएको उहाँको भनाइ छ । 

राष्ट्रिय महिला आयोग र बीबीसी मिडिया एक्सनको संयुक्त आयोजनामा बिहीवार ललितपुरमा आयोजित ‘अनलाइनमा महिला सुरक्षा’ विषयक कार्यक्रममा मन्त्री शर्माले उक्त जानकारी दिनुभएको हो । 

राज्य र व्यक्तिको तथ्याङ्कलाई सुरक्षित राख्ने दायित्व सरकारको भएकाले कानुन निर्माण गर्न लागेको मन्त्री शर्माले बताउनुभयो । 

सरकारले घोषणा गर्ने बित्तिक्कै टिकटक बन्द हुन नसकेको प्रसङ्ग निकाल्दै मन्त्री शर्माले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न कानुनको आवश्यकता महसुस गरिएको बताउनुभयो । 

कार्यक्रममा नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी उपरिक्षक दीपकराज अवस्थीले सामाजिक सञ्जालबाट पछिल्लो समय महिला र पुरुष दुवै पीडित बन्ने गरेको बताउनुभयो ।

अनलाइनमार्फत सबैभन्दा बढी आर्थिक ठगीका घटना बढेको उहाँको भनाइ थियो । 

चिठ्ठा परेको, वैदेशिक रोजगारीमा जान भिसा दिने प्रलोभन, एउटै नाम थर भएकाहरूको नाममा रकम पाउने लोभ, हनी ट्रयापिङ जस्ता घटना अनलाइनमार्फत बढ्ने गरेको अवस्थीको भनाइ छ । 

यस्ता खालका २० भन्दा बढी उजुरी दैनिकजसो साइबर ब्यूरोमा आउने गरेको अवस्थीले जानकारी दिनुभयो । 

कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणका उपनिर्देशक रोजा किरण बासुकलाले प्रविधिमा आधारित हिंसा न्यूनीकरण गर्न सम्बन्धित निकायहरूको प्रणाली एकीकृत हुनेगरि अनलाइन हिंसा उजुरी प्रणाली स्थापना गर्न आवश्यक नियम, निर्देशिका तयार गर्नुपर्ने बताउनुभयो । 

डिजिटल डाटा सुरक्षा सम्बन्धमा कानुन संशोधन र निर्माण गर्नुपर्ने बासुकलाको भनाइ थियो । 

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले प्रविधिको उपयोगबाट महिलालाई आर्थिक, सामाजिक हिसाबले सशक्त बनाउन सकिने भएकाले यसबारे सचेतना बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो । 

पछिल्लो समय महिलामाथि हुने हिंसाको स्वरुप फेरिँदै गएको र हिंसाको माध्यम इन्टरनेट पनि भएको पाइएकाले सुरक्षित इन्टरनेट प्रयोगबारे जानकारी गराउनुपर्ने कार्यक्रममा सहभागीहरूको भनाइ थियो । 

प्रविधिको विकाससँगै जीवन सहज बन्न थाले पनि यसको दुरुपयोग गर्दै विभिन्न घटना हुने क्रम पनि बढेको भन्दै अनलाइनमार्फत हुने हिंसाको न्यूनीकरण गर्न तीन तहको सरकारले शिक्षा, सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सहभागीहरूको जोड थियो ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *